सपनाहरू
फूलझैँ फुल्छन् आँखाभरि,
छिनभरमै विलाउँछन्,
सजिएका सपनाहरूको दुनियाँमा
कसैको भाग्य चम्किन्छ, कसैको तुहिन्छ
इन्द्रेणी रंगका चाहनाहरू
आकाशमा उड्छन् चङ्गाजस्तै,
हावा लाग्दा कसैको त छुट्छ डोरी,
कसैको पुग्छ अनन्त यात्रा।
तर, रंगीन सपना मात्रै कहाँ पर्याप्त छन् र?
पलपलमा कोरिएका संघर्षका रेखाहरू
त्यसको जग बन्छन्, आधार बन्छन्,
र तब मात्र सपना वास्तविकताको रङमा रंगिन्छ
उहिले उहिले होलीमा
पिचकारीका थोपाहरूमा घाम झलमलाउँथ्यो,
गालाभरि छरिएको अबिर, सपनाझैँ मुस्काउँथ्यो,
चिनिने अनुहारहरू अज्ञात बन्दै,
हामी रंगमै हराउँथ्यौँ।
कति उत्साह, कति निर्दोषता!
न जातको भेद, न उमेरको सीमा,
माटो जस्तै, पानी जस्तै,
रङ्गमा मिसिन्थ्यौँ आत्मीयतासँगै।
गल्लीभरि दौडथ्यौँ, लुकी-लुकी छ्याप्थ्यौँ,
गाली खान्थ्यौँ, फेरि हाँस्दै भाग्थ्यौँ,
थाक्नू हुन्थेन, झगडा सम्भव थिएन,
रङ्गहरू साक्षी हुन्थे बालापनको न्यानोपन।
बिहानीको उज्यालोसँगै सुरु भएको होली,
साँझ पर्दा पनि मन मेटिँदैनथ्यो,
तर बिस्तारै, समयसँगै,
बालापनको त्यो रंग कतै हरायो।
अहिले पनि होली आउँछ,
रङ्गहरू फिँजिन्छन्, तर त्यही हाँसो खै?
बालापनको त्यो मादकता,
केवल सम्झनाहरूमा सीमित छ, आज।
यो होली मात्र होइन,
यो त सपनाहरूको उत्सव हो,
जसरी रङ्ग मिसिन्छन् एकआपसमा,
त्यसरी नै मिसिऊन् हाम्रा लक्ष्यहरू।
रङ्गिन बनोस् जिन्दगी,
सपना मात्र होइन, सत्य पनि चम्कोस्,
होलीले रंग्याएको मन,
सधैँ उमङ्ग र आशाले झलमलाओस् ।
र कहिलै नपुछियोस
रङ्गीन सपनाहरुको रङ्ग ।