म बुढो रूखको छिप्पिएको पातझै भएको छु ।
म मा नौजवान भएर पाउलो फेर्ने सपना मरिसकेको छ ।
मैले चर्को घाम सहेको छु ।
मैले आकाश बाट दर्किएको पानी सहेको छु ।
मैले उराठलाग्दो खडेरी सहेको छु ।
मैले उत्ताउलो हावाको बेग सहेको छु ।
मैले सहनै नसक्ने पराकाष्ठा सहेको छु ।
म त्यही पराकाष्ठा सहन नसकेर
भुइँमा झरेको छु ।
भुइँमा झरेपछि
आएकै बाटो फर्कने तागत मरेको छ ।
दुःखका अनेक पिटाइले पिल्सिएर
सुकेको मेरो छातीमा
कसैले
निर्दयी पैताला राखी
कुल्चिएर
मेरो अस्तित्व मेटाई दिन्छ कि
भन्ने चिन्ताले मन बेचैन भएको छ ।