कट्टालको जीब्रो

कविता | निम्ब तरु

कट्टालको जीब्रो मात्रै बौलाएको हो

चिप्लिएको हो

दिमाग ठीक छ

मनले पश्चाताप गरेको छ पनि भन्थ्यो

हातखुट्टा चिरेको काक्रा झै सर्लक्कका छन्

केराको खम्बा भन्न मिल्छ ज्यान


पसारो परेपनि

कचहरीले फैसला गर्यो

कट्टालको जीब्रो मात्रै बौलाएको हो।


मुख्तियारको घोडा बौलायो

नाघ्यो पर्खाल

काजीको कुकुर बौलायो

जुत्ता खायो

उनीहरुलाई चार भञ्ज्याङ कटाइयो

अब कट्टाल कि नभएपनि मान्छे हो

उस्को जिब्रो थुत्नुपर्छ


कट्टाल थियो निरीह

आडैमा मन्दिरको घण्टा बजाइरहेथ्यो।

अस्ति लखेटिएको कुकुरको पुच्छरले धुलो उडाइरहेथ्यो

घोडाको हिहिले अब साच्चिकै काप्नेछ जमीन

अघि देखि एउटा कागले कन्सिरी तताइरह्थ्यो।

अाखिर जिब्रो थुतिने नै भएपछि

कट्टाल अन्तिमपल्ट भएभरको बोल्ने निर्णयमा छ।



द्वारा 2025-03-17 09:28:07 मा प्रकाशित
© 2024 - 2025 साहित्य_समाज All rights reserved.
Powered By: Cware IT Solution