अस्तव्यस्त छ यो जिन्दगानी बनाउनु छ
आमा अब एकथान राहधानी बनाउनु छ
किन विर्सियो ईश्वरले मेरो भाग्य रेखा कोर्न
घोटेर हातको रेखा मनोमानी बनाउनु छ
अभाव त छदैछ गरिवमाथि दवाव त्यस्तै
किनेर स्वतन्त्रता आफ्नै सुनखानी बनाउनु छ
सके कमाएरै आउला नसके उहीँ बाकसमै
आफ्नै लास सजाउने फुलदानी बनाउनु छ
बा सम्झाइदेउ न आमालाई हुन्देउ भनेर
ठूलो सपना छैन, उनैलाई महारानी बनाउनु छ